सुन्दरहरैंचा र इटहरी बिच सीमा विवाद उत्पन्न : तटबन्ध निर्माण कार्यमा अवरोध


केशु विरही – सुन्दरहरैँचा । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका बिच सीमा विवाद उत्पन्न भएको छ । बुढी खोलामा सुरु गरिएको तटबन्धको विषयलाई लिएर मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका बिच विवाद उत्पन्न भएको हो ।

बुढी खोलाको पूर्व पट्टिको क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाले तटबन्ध निर्माण कार्य सुरु गरेपछि सो विवाद सुरु भएको छ । बुढी खोलाको बुढी पुल देखि पूर्व दक्षिण तर्फ सुन्दरहरैंचाले तटबन्ध निर्माण गर्दै गरेको बेलामा इटहरीका मेयर तथा उपमेयर लगायतको टिमले काममा अवरोध गरेकोपछि दुई स्थानीय पालिकाको सो विवाद चुलिएको हो ।

सुन्दरहरैँचातर्फको जमिनमा काम भइरहेको बेलामा इटहरीका मेयर द्वारिकालाल चौधरी सहित उपमेयर लक्ष्मी गौतमको टोलीले निर्माण कार्य रोक्न दबाब दिएर काममा अवरोध गरेका थिए ।

काम भइरहेको बेलामा नगर प्रहरीसहित त्यहाँ पुगेर स्थानीय र काम गरिरहेका मजदुरमाथि मेयर र उपमेयरको टिम आक्रामक शैलीमा प्रस्तुत भएको सुन्दरहरैंचा वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउँछन् । सुनसरीका जनप्रतिनिधि मोरङमा विवाद गर्न आउने अधिकार नभएको र यसरी जनतालाई त्रसित पार्ने गतिविधि तत्काल रोक्नुपर्ने उनी बताउँछन् ।

खोला नजिक रहेको बस्तीलाई बुढी खोलाको बाढीले वर्षेनी निकै दुख दिएकोले नेपाल सरकार जलउत्पन्न कार्यालयको ६७ लाखको लागतमा सुन्दरहरैंचाले तटबन्ध निर्माणको काम सुरु गरेको, नयाँ टटवन्ध पुरानो तटबन्ध भन्दा ४ फिट छोडेर पूर्व तर्फ किनारामा ढुङ्गा जाली लगाउने काम गरिएकोले इटहरीले विवाद गर्नु पर्ने ठाउँ नै नभएको वडाध्यक्ष श्रेष्ठको मत रहेको छ ।

विशेष गरेर बस्ती जोगाउनतर्फ लागेको सुन्दरहरैंचा नगरपालिकामाथि इटहरी उपमहानगरपालिकाले दादागिरी शैलीमा अवरोध गरेको स्थानीयको आरोप रहेको छ ।
यता इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम भने दुई स्थानीय तह बिचको सिमानामा काम गर्दा समन्वय गर्नु पर्थ्यो तर जानकारी नदिई कार्य गर्दा इटहरी नगरपालिकाले चासो राखेको बताउछिन ।

देशमा नेपाल र भारतबिच सीमा विवाद चर्किएकै बेलामा यसरी छिमेकी स्थानीयपालिकाविच विवाद हुनु राम्रो होइन । छलफलबाट ठुलाभन्दा ठुला विवाद पनि हल हुन सक्छन् । तसर्थ दुई स्थानीय तहले चाँडोभन्दा चाँडो वार्तामा बसेर विवाद सुल्झाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्