थप १९ जना संक्रमणको पुष्टि : नेपालमा संक्रमित संख्या ६०३ पुग्यो


काठमाडौं, ११ जेठ । थप १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज (आइतबार) थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको जानकारी दिए ।  संक्रमितमध्ये हालसम्म ८७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा मोरङका एक जना, बाराका एक जना, पर्साका तीन जना, रौटहटका एक जना, सर्लाहीका एक जना, रुपन्देहीका तीन जना र काठमाडौंका एक जनामा संक्रमण देखिएको बताए ।

यस्तै नुवाकोटका एक जना, रुपन्देहीका तीन जना, कपिलवस्तुका तीन जना र गुल्मीका एक जनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलो पटक नुवाकोटमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८१५ परीक्षणहरु गरिएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्