भारतीय पत्रकार अर्नब गोस्वामीविरुद्ध मुद्दा चल्ने


काठमाडौँ, ११ जेठ । भारतले नेपाली भूमि मिचेको विषयमा नेपाल र नेपालीप्रति तथ्यहीन रूपमा आक्रामक शैलीमा प्रस्तुत भइरहेका भारतीय पत्रकार अर्नब गोस्वामीविरुद्ध मुद्दा चल्ने भएको छ ।

गोस्वामीविरुद्ध तर नेपालका विषयमा नभई भारतमै सामाजिक सद्भाव बिथोलेको आरोपमा भारतीय प्रहरीले नै मुद्दा चलाउन तयारी गरेको हो । रिपब्लिक टिभीका प्रधान सम्पादक गोस्वामीले मुस्लिम समुदायको मानहानि र गाली बेइज्जती गरेको भन्दै मुम्बई प्रहरीले उनी विरुद्ध मुद्दा चलाउने भएको हो ।

प्रहरीले दर्ता गर्न खोजको मुद्दा रोक्न उनले दायर गरेको अपिल सर्वोच्च अदालतले गत मङ्गलवार खारेज गर्दै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो । गोस्वामीले टेलिभिजन कार्यक्रममार्फत मुम्बईका सुकुमसीविरुद्ध तुच्छ र निकृष्ट भाषा प्रयोग गरेको आरोप छ ।

न्यायाधीश डीआई चन्द्रचुड र एमआर साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभाबी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ । पत्रकार गोस्वामीले केही समयअघि राष्ट्रिय काङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धीविरुद्ध पनि आक्रामक अभिव्यक्ति दिएका थिए ।

उनी विरुद्ध अदालतले १४ स्थानबाट परेका उजुरी खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पत्रकार गोस्वामीसँग केही दिनअघि नेपालको नयाँ नक्साका विषयमा नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालको पनि चर्का चर्की भएको थियो । उनले नेपालको सीमाका विषयमा समेत तथ्यहीन प्रचार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्