कैलालीको गौरीफन्टा नाकाबाट २५ सय जना फर्किए : चार जनामा कोरोना संक्रमण पुष्टि


बैतडी, १० जेठ । बैतडीका चार जना कोरोना संक्रमण पुष्टि भएका  कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएको पाइएको छ । ती चार जना आज शनिवार नेपाल भित्रिएका हुन ।

कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक अस्पताल लगिएका २२ जनामध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिएका छन् ।

सयौंको भिडमा रहेका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि अहिले सुदूरपश्चिम प्रदेशमा त्रास फैलिएको छ । बिहीबार सीमाबाट स्वदेश प्रवेश गरेका २४ सय ९८ जनामध्ये छ सय जनाको मात्र ¥यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

शनिबार संक्रमण पुष्टि भएका चारै जना बैतडीको शिवनाथ गाउँपालिकाका हुन् । शिवनाथ गाउँपालिकाका–१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनीहरू चारै जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् ।

यसअघि शुक्रबार पनि सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका एक जनालाई शुक्रबार संक्रमण देखिएको थियो । उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्