टेकुका ‘कोरोना रेस्पोन्स टिम’ मा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण


काठमाडौं, ७ जेठ । काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ‘कोरोना रेस्पोन्स टिम’ कार्यरत एक डाक्टरलाई नै कोरोना संक्रमण भएको छ ।

उनी नेपालमा कोरोना संक्रमण पुष्टि भएका पहिलो डाक्टर हुन् । उनी संक्रमितको उपचारमा संलग्न हुँदै आएका थिए । महाशाखामा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।

‘उहाँसँग सम्पर्कमा आएकाहरुलाई अब आइसोलेसनमा राख्छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ती डाक्टर ललितपुरको पाटनमा बस्दै आएको जनाइएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । महाशाखामै कार्यरत डाक्टरलाई कोरोना भएको पाइएपछि उनलाई टेकु अस्पतालकै आइशोलेसनमा राख्ने तयारी गरिएको छ ।

उनी कन्ट्याक्ट ट्रेसिङको क्रममा कपिलवस्तु गएका स्रोतले जानकारी दिएको छ । कपिलवस्तुमा जाँदा संक्रमण भएको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो । यसअघि नेपालमा तीन नर्समा पनि संक्रमण देखिएको थियो ।

धनकुटाको जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया एक नर्सलाई कोरोना देखिए पनि उनका पाँच वर्षीय छोरालाई भने कोरोना देखिएको छैन । यस्तै कपिलवस्तु अस्पताल र चितवनको नारायणी अस्पतालमा कार्यरत दुई नर्समा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्