काठमाडौं, ६ जेठ । नेपालमा आज (मंगलबार) थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
उनीहरु २७ देखि ४२ वर्षका रहेको डा. देवकोटाले जानकारी दिएका छन् । तीमध्ये २४ जना पुरुष र तीन जना महिला छन् । नेपालमा हालसम्म कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।
३७ जना उपचारपछि निको भएका छन् । डा. देवकोटाले झापाका एक जना संक्रमित आज डिस्चार्ज भएको जानकारी दिए । उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए ।