काठमाडौँ, ४ जेठ । थप १५ दिन लकडाउन लम्ब्याउन कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको छ । जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने समितिले सिफारिस गरेको हो ।
नेपालमा कोरोना भाइरस कोभिड १९ बाट दुई जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणले एक सुत्केरी महिला मृत्यु भएको हिजो मात्र स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । फेरी आज एक युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । नेपालमा कोरोनाको संक्रमण सङ्ख्या तीव्र गरी वृद्धि भएसँगै दुई जनाको निधनले भोलि सोमबारदेखि सकिने लकडाउन थप १५ दिनसम्म लम्बाउनु भएको छ ।
कार्यदलले मन्त्रिपरिषद् लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले जानकारी दिएका छन् । देशका विभिन्न स्थानमा कोरोना संक्रमण देखिइरहेको र संक्रमितको मृत्यु समेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको उनले बताएका छन् । केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउनबारे निर्णय गर्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनको कुनै विकल्प नभएको निष्कर्ष निकालिएको बताए । उनका अनुसार परीक्षणको दायरा र स्वास्थ्यकर्मीको मनोबल बढाउने निर्णय पनि समितिले गरेको छ । चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ ।