कोरोनाबाट मृत्यु भएको युवक ६ दिनअघि मात्र भारतबाट आएको खुलासा


काठमाडौँ, ४ जेठ । कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु भएका दोस्रो व्यक्ति ६ दिनअघि मात्र भारतबाट नेपाल आएको खुलेको छ ।

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका युवकको मृत्युको कारण कोरोना संक्रमण नै भएको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आज (आइतबार) बिहान एक्कासि स्वास्थ्य असामान्य भएपछि मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए ।

खानका अनुसार उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिएका छन् । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिवार नै सङ्कलन गरिएको थियो। आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

एकै दिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो ।

पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिवार २६३ जनाको सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्