काठमाडौँ, ३ जेठ । धुलिखेल अस्पतालमा उपचारका लागि आएकी एक सुत्केरी महिलाको निधन भएपछि अहिले अस्पतालनै ‘शिल’ गरिएको छ ।
श्वास–प्रश्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको र अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । नौ दिनकी ती सुत्केरी महिलाको कोरोना परीक्षण रिपोर्ट शङ्कास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको जनाइएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिला नौ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी थिइन् । महिलाको शङ्कास्पद मृत्यु भएपछि कोरोनाको आशङ्कामा उनको स्वाब धुलिखेल अस्पतालमै परीक्षण गरिएको थियो ।
त्यसको रिपोर्ट शङ्कास्पद आएपछि उनको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने जनाइएको छ ।