काठमाडौँ, २९ वैशाख । सरकारले तत्काल सशस्त्र प्रहरीको टोलीलाई भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको दार्चुलाको लिपुलेक क्षेत्रमा पठाउने तयारी थालेको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले नेपाली भूमि मिचिएको क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनासम्मको टोली पठाउन लागिएको बताएका छन् ।
उक्त क्षेत्रमा सशस्त्रको टोली पठाउनका लागि दार्चुलास्थित गुल्मलाई तत्काल घर भाडामा लिन निर्देशन दिइसकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘भोलि नै पनि टोली जान सक्छ । नत्र एक–दुई दिन भन्दा टाढा जाँदैन ।’
बन्दोबस्तीका सामान तयारी गरेर सेनाको हेलिकोप्टरमार्फत टोली त्यहाँ पठाउन लागिएको जनाइएको छ । सरकारले गत मंसिरमै छाङरुङेमा बोर्डरआउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको थियो । त्यति बेला निर्णय भएका ११४ बीओपीमध्ये १३ वटा मात्रै स्थापना भएका छन् ।
एउटा किमाथाङ्कामा र बाँकी १२ वटा तराईका जिल्लामा स्थापना भएका छन् ।
चीनतर्फको सिमानामा ७ र बाँकी १०७ बीओपी भारतीय सिमानामा थप गर्ने निर्णय भएको थियो । तर, ६ महिना बितिसक्दा पनि सशस्त्रले बीओपी राख्न सकेको छैन ।
दार्चुला सदरमुकामबाट लिपुलेक पुग्न एक साता लाग्ने भएकाले नेपाल प्रहरीले पनि सशस्त्रसँगै २५ जनाको टोली पठाउने भएको छ । दुइटा प्रहरी चौकीका लागि करिब २२ जनाको टोली त्यहाँ जान लागेको स्रोतले जानकारी दिएको छ । सीमामा विवाद बढेसँगै सशस्त्र पठाउने तयारी भएपछि नेपाल प्रहरीको टोली पनि सँगै जान लागेको हो ।
भारतले नेपालको १९ किलोमिटर भूमि हुँदै चीनसम्म जोड्ने मानसरोवर सडक निर्माण गरी उद्घाटन समेत गरिसकेको छ । भारतले एकतर्फी रूपमा नेपाली भूमि मिचेर सडक खनेपछि अहिले नेपालमा त्यस कदमको सडक र सदन दुबैबाट चर्को विरोध भइरहेको छ ।