काठमाठौं, २८ वैशाख । विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश–१ मा डिस्चार्ज हुनेको सङ्ख्या १६ पुगेको छ ।
आज (आइतबार) दिउँसो झापाका एक र भोजपुरका एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक र झापा बाह्रदशी गाउँपालिकाका ६३ वर्षी वृद्ध छन् ।
भोजपुरका युवक वैशाख १० र झापाका वृद्ध वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरूलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड–१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिएका छन् ।
दुवै जनालाई स्थानीय जनप्रतिनिधि सँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबार नै घर पठाइएको छ । कोभिड–१९ उपचार केन्द्रबाट यसअघि बुधवार ६ र शुक्रवार ८ जना डिस्चार्ज भएका थिए ।
यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए। अब १९ जना उपचार केन्द्रमा उपचाररत छन् ।