नेपालको १९ किलोमिटर भूमि भारतले मिचेर मानसरोवर जोड्ने सडक खन्यो : सरकार


काठमाडौँ, २८ वैशाख । भारतले नेपालको १९ किलोमिटर भूमि मिचेर मानसरोवर जोड्ने सडक खनेको सरकारले बताएको छ ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (आइतबार) को बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक १९ किलोमिटर नेपाली भूमि मिचेर बनाएको जानकारी गराएका छन् ।

उनले सीमा समस्या समाधान कूटनीतिक पहलबाट हुने विश्वास व्यक्त गरेका छन् । ‘हामीलाई विश्वास छ यो विषय कूटनीतिक पहलबाटै समाधान हुन्छ, तसर्थ यो मुद्दालाई अहिल्यै अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता छैन,’ बैठकमा उनले भने ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएको जानकारी पाउने बित्तिकै यसको विस्तृत जानकारी पठाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिई सकिएको समेत उनले बताएका छन् ।

बैठकमा सांसदले चीनसँगको सीमाका विषयमा पनि कुरा उठाएका थिए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले यसलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पहिले नेपाल भारतको सीमा निश्चित गर्न जरुरी रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्