विश्वभर कोरोनाबाट ७८ जना नेपालीको मृत्यु


काठमाडौँ, २८ वैशाख । कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट शनिवारसम्ममा विश्वभर ७८ जना नेपालीको ज्यान गएको छ । संसारभर रहेका ७८ जना गैरआवासीय नेपालीले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको हो ।

कोरोना भाइरस संक्रमणबाट स्वदेशका नेपाली भन्दा विदेशमा रहेका नेपाली बढी प्रताडित भइरहेका छन् । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यसै गरी संयुक्त राज्य अमेरिकामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । जसमा न्यूयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ६, आयरल्याण्डमा एक, जापानमा एक , टर्कीमा एक, नेदरल्याण्डमा एक, बहराइन एक, स्विडेन एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छन् । यसै हप्ता मात्र थप पाँच नेपालीले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा युके दुई, स्विडेन एक, बहराइन एक, युएईमा एक छन् ।

यस्तै, संयोजक डा. सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ४७२ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २ हजारभन्दा बढी संक्रमण मुक्त भएको अनुमान समितिको छ ।

सापकोटाले विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको पनि बताएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशका नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ ।

यसैबिच गैरआवासीय नेपाली सङ्घले कोभिड १९ को प्रभावित देशहरूमा राहत वितरण भइरहेको जनाएको छ । सङ्घका महासचिव डा. हेमराज शर्माका अनुसार ४६ देशका २७० भन्दा बढी क्षेत्र (सहर) मा एक हजार ६ सया बढी स्वंसेवकहरु राहत वितरणमा खटेका छन् ।

प्रतिक्रिया दिनुहोस्