सन्धि विपरीत भारतद्वारा नेपाली भूमि अतिक्रमण : लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्ग खोले


काठमाडौँ, २७ वैशाख / सन् १८१६ को सुगौली सन्धि विपरीत कोरोना भाइरस (कोभिड–१९) को महामारीको मौका छोप्दै भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ ।

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमि मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । यो सन् १८१६ को सुगौली सन्धि विपरीत पनि हो । सन्धि अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो ।

नेपाली भूमि भित्रबाट ७८ किलो मिटर लामो सडक खन्दा समेत भारतले नेपाललाई कुनै जानकारी गराएन । तर, शुक्रवार एकाएक सडक उद्घाटन गरिएपछि अहिले यसले दुई देशबिचको सीमा विवादलाई चर्काएको छ ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको यो सडकले नेपाल–भारतबिच फेरि सीमा विवाद चर्काएको छ ।

शुक्रवार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा उद्घाटन गरेको ७८ किलोमिटर लामो यो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गर्दा समेत नेपाल सरकार अनभिज्ञ रहनु दुःखद भएको भन्दै सर्वसाधारण र विज्ञहरूले सरकारको आलोचना समेत गरेका छन् ।

तस्विरहरु : रासस

https://youtu.be/b8ZFpR3giSc

प्रतिक्रिया दिनुहोस्