नेपालमा थप सात जनामा कोरोना पुष्टि : संक्रमित संख्या १०९ पुग्यो


काठमाडौँ, २७ वैशाख । नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १०९ पुगेको छ ।

आज (शनिवार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ, कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरू उदयपुर, कपिलवस्तु र पर्साका हुन् । उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीय महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्