भारतले नेपाली भूमि मिचेर धार्चुला–लिपुलेक खण्डमा सडक सञ्चालन गर्दै


काठमाडौँ, २६ वैशाख । भारतले एक पक्षीय रूपमा नेपाली भूमि मिचेर धार्चुला–लिपुलेक खण्डमा सडक सञ्चालन गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रवार भिडियो कन्फ्रेन्समार्फत दार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेका छन् ।

भारतको उत्तराखण्डस्थित दार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।

भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड(१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’

सीमाविद् भन्छन्, ‘सडक सञ्चालन ‘सुगौली सन्धि विपरीत’

यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविद्हरूले बताएका छन् । भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनाल त्यो बाटो नेपाली भूमि हुँदै गएको बताएका छन् ।

सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । प्रा.डा. खनाल लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटियाङ्दीलगायतका सम्पूर्ण भूभाग नेपालको हो ।

सर्वे अफ इन्डियाले नेपाली भूभाग समेत भारततर्फ पर्नेगरी नोभेम्बर २०१९ यता दुई वटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भयो ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रूपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यति बेला उनीहरूले नेपाललाई कुनै जानकारी दिएको थिएन ।

कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको कुरा दुवै देशले स्वीकारेको छ । तर, आफैँले विवाद छ भनेर स्वीकारेको क्षेत्रमा एकलौटी रूपमा बाटो खोल्नु गलत भएको जनकारहरू बताउँछन् ।

सर्वे अफ इन्डियाले निकालेको नक्साको जनस्तरमा व्यापक विरोध भएपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएको थियो । तर, भारतले अहिलेसम्म समस्या समाधान हुने गरी तत्परता देखाएको छैन ।

भारत चुप लागेर बसे पनि नेपालले आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्ने जानकारहरू बताउँछन् । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलका अनुसार यो महाकाली नदीको मुहानसँग जोडिएको मुद्दा हो ।

भारत आफैले कालापानी र सुस्तामा विवाद छ भनेको बेला त्यसरी सडक खोल्नु सहमति विपरीत भएको ढुङ्गेलले बताएका छन् ।

‘कोरोना महामारीका बेला भारतले नेपाली भूमि मिचेर सडक उद्घाटन गरेको खबर आयो’ सीमा बचाउ अभियानमा समेत सक्रिय पूर्वसचिव ढुङ्गेल भन्छन् ‘एउटा नागरिकको नाताले मेरो प्रश्न छ यो विषयमा नेपाल सरकारको दृष्टिकोण के हो ? दिल्लीस्थित नेपाली दूतावासले के खबर ग¥यो ?’

प्रतिक्रिया दिनुहोस्