विराटनगर, २४ वैशाख । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरूलाई आज (बुधवार) बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उनीहरूलाई बिदाइ गरेका छन् । डिस्चार्ज भए पनि उनीहरूलाई अझै एक साता विराटनगरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिने जनाइएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरूलाई फूलका गुच्छा दिएर बिदाइ गरिएको छ ।
विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी तीन जनामध्ये दुई जना झापा र एक जना भोजपुरका छन् ।