काठमाडौँ, २४ वैशाख । उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस संक्रमण दोहोरिएको छ । काठमाडौँ, वीरगञ्ज र रौतहटका एक–एक जनामा फेरि कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
वीरगञ्जमा उपचारपछि निको भएकामा फेरि संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
यस्तै काठमाडौँ जडीबुटीस्थित सनसिटी अपार्टमेन्टमा यसअघि संक्रमण देखिएर उपचारपछि निको भएका ५८ वयाीृय पुरुषलाई फेरि कोरोना संक्रमण देखिएको छ । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको डा. देवकोटाले जानकारी दिएका छन् ।
गएको चैत ५ गते बेलायतबाट फर्केका ती पुरुष र उनकी आमामा संक्रमण देखिएपछि पाटन अस्पतालमा नै उपचार गराइएको थियो । त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि संक्रमण दोहोरिएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ८२ रहेको छ । हिजो (मङ्गलवार) नेपालगञ्जका सात जनामा कोरोना संक्रमण देखिएसँगै देशभर संक्रमितको सङ्ख्या ८२ पुगेको हो । हालसम्म १६ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म कर्णाली प्रदेशमा मात्र कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् ।