निको भएको एक युवकलाई पुनः कोरोना पोजेटिभ देखियो


रौतहट, २१ वैशाख । रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक कोरोनालाई जितेर घर फर्किएका रौतहटका एक युवाको स्वास्थ्य फेरि बिग्रेको छ ।

१४ दिन अस्पताल बसेर कोरोनामुक्त भई घर फर्किएका ती युवकको स्वास्थ्यमा फेरि समस्या देखिएपछि फेरि अस्पताल भर्ना गरिएको छ । वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर गएका ती युवामा फेरि कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

युवकलाई एक्कासि ज्वरो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको छ । परीक्षणका क्रममा उनमा फेरि पनि कोरोना पोजेटिभ देखिएको नारायणी क्षेत्रीय अस्पताल स्रोतले जानकारी दिएको छ । अहिले उनलाई वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

कोरोनामुक्त भएर फेरि अस्पताल भर्ना भएका युवक भन्छन्, ‘मलाई लिन एम्बुलेन्स पठाइएको थियो, अहिले अस्पतालमा छु । नर्सले एक–दुई दिन यहीँ बस्नु पर्छ भन्नु भएको छ ।’

भारतको दिल्लीबाट रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई कोरोना पोजेटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा राखी उपचार गरिएको थियो ।

अस्पतालमै राखेर उपचार गरेपछि उनको टेस्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि ‘कोरोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डिस्चार्ज गरिएको थियो । उनीसहित उनको परिवारका सदस्यहरूको स्वाब परीक्षण गर्दा ती युवकमा पुनः पोजेटिभ नतिजा देखिएपछि वैशाख २० गते राति उनलाई अस्पताल ल्याइएको हो ।

उनीसँगै चार जना बिरामी निको भई डिस्चार्ज भएका थिए । अहिले फेरि ती चारै जनालाई फेरि अस्पताल ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्