बेलबारी, २० वैशाख / बेलबारी वडा नं. ४ स्थित हिमाली टोलमा हिमाली टोल विकास समितिले बेलबारी नगरपालिकाको सहयोगमा ज्याला मजदुरी गर्ने परिवारलाई दोस्रो चरणको खाद्यान्न सामग्री वितरण गरेको छ ।
शनिवार बेलबारी वडा नं. ४ स्थित हिमाली टोल विकास समितिले बेलबारी नगरपालिका र वडा कार्यालयसँगको समन्वयमा ४६ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । ज्याला मजदुरी गर्ने परिवारको पहिचान गरी राहत वितरण गरेको वडा-४ का अध्यक्ष राम किराँती राईले जानकारी दिएका छन्।
टोल समितिले परिवार सदस्य सङ्ख्याको आधारमा खाद्यान्न वितरण गरेको छ । प्रति परिवारमा २ देखी ४ जना सम्म सदस्य सङ्ख्या भएकालाई १५ केजी चामल, १ केजी नुन, १ केजी दाल र १ वटा साबुन साथै ५ देखी धेरै सदस्य भएकालाई २५ केजी चामल, १ केजी नुन, २ केजी दाल र १ वटा साबुन वितरण गरिएको हिमाली टोल विकास संस्थाका अध्यक्ष केशवमान गुरुङले जानकारी गराए।
वडा-४ का अध्यक्ष राम किराँती राई र वडा प्रतिनिधि सदस्य आनन्द मोतेको नेतृत्वमा वितरण गरेको राहत कार्यक्रममा जनता समाजवादी पार्टी,वडा-४ का अध्यक्ष रमेश गुरुङ, ने.क.पा का वडा-४ अध्यक्ष नारायण सुनुवारको पनि उपस्थिति रहेको थियो।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनले उत्पन्न भएको विभिन्न समस्या मध्य ज्याला मजदुरी गर्ने परिवारमा खाद्यान्नको अभाव प्रमुख बन्दै गएको भन्दै टोल विकास समितिका कोषाध्यक्ष चन्द्रकला गुरुङले बताए।