बागमति र प्रदेश–५ लाई चीनको गान्सु सरकारद्धारा स्वास्थ्य सामाग्री प्रदान


काठमाडौँ , १९ वैशाख। कोरोना भाइरस कोभिड १९ विरुद्ध लड्न नेपालको बागमति प्रदेश र प्रदेश नं ५ लाई चीनको गान्सु प्रान्त सरकारले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हस्तान्तरण कार्यक्रममा गान्सु प्रान्त सरकारले सो सामाग्री हस्तान्तरण गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा मन्त्रालयका सचिव केदारवावु अधिकारीलाई गान्सु प्रान्त सरकार प्रतिनिधि होङ्ग होङ्गले २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेका छन् ।

मन्त्री भट्टराईले कार्यक्रममा बोल्दै कोरोना विरुद्धको लडाई जित्नका लागि प्राप्त स्वास्थ्य सामाग्रीले ठुलो मद्दत पुग्ने बताउँदै यस सहयोगले नेपाल –चीनबिचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनताबिचको सम्बन्धलाई पनि प्रगाढ बनाउने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे । मन्त्रालयका सचिव अधिकारीले प्राप्त सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै यसबिचमा चीन सरकारका विभिन्न तहबाट प्राप्त सहयोगको पनि उच्च प्रशंसा गरे ।

त्यस्तै, गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयोग गर्दै जाने बताए । चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी भइसकेको सन्दर्भमा आफूहरूले यसबाट प्रभावित देशहरूलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै उनले कोरोना विरुद्धको यो लडाई जित्न थप आवश्यकता चाहिएमा खुलस्त रूपमा भन्न समेत आग्रह गरे ।

उनले भने–‘नेपाललाई यो महामारीबाट हुनसक्ने धनजनको क्षतिबाट बचाउन थप आवश्यकता चाहिए खुलस्त रूपमा भन्नुहोला, हामी सहयोगका लागि तयार छौँ।’ यस्ता महामारी र प्रकोप मानिसको नियन्त्रणमा नहुने उल्लेख गर्दै उनले मानव– मानवबिचको सद्भाव कायम राख्न र दुई देशबिचको प्रगाढ सम्बन्धलाई अझ सुदृढ बनाउने निरन्तरताका रूपमा यो सहयोग प्रदान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्