काठमाडौँ, १९ वैशाख । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले २०७७ वैशाख १८ मा भारतका पर्यटन सङ्घ–संस्थाका प्रमुसखहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कट पछि नयाँ गति दिने विषयमा अनलाइन छलफल गर्नुभएको छ ।
छलफलमा भारतीय पर्यटनका अगुवाहरू–श्री ज्योति मयल, अध्यक्ष, भारतीय ट्राभल एजेण्टस एसोसिएसन; श्री पिपि खन्ना, अध्यक्ष, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसन;क्याप्टेन स्वदेश कुमार, अध्यक्ष भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसन; श्री प्रदीप लुल्ला, अध्यक्ष, भारतीय ट्राभल एजेण्टस फेडेरेसन र श्री महेन्द्र भखारिया, निवर्तमान अध्यक्ष, भारतीय आउटबाउण्ड टुर अपरेटर्स एसोसिएसन सहभागी थिए भने बज भारतीय ट्राभलका प्रमुख श्री सञित जैनले छलफलको समन्वय गरेका थिए ।
बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले उक्त छलफलमा बोर्डले वर्तमान सङ्कटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा, नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्वेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमी, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको व्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकीय गन्तव्यको विकासका साथै ती स्थानहरूमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलहरूका बारेमा जानकारी गराउनुभयो ।
छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकहरूको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने विविध अभियानका बारेमा बढी केन्द्रित थियो । सबै सहभागी भारतीय पर्यटनका शीर्ष व्यक्तिहरूले सङ्कट पश्चात् भारतीय पर्यटकहरू भ्रमणमा सामाजिक दुरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यहरूमा यसको प्रबन्ध गर्न अनुरोध गरे । नेपालको यो सङ्कटमा हालसम्म शून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारहरूमा छुट्टै स्थान बनाउने र नेपाल प्रतिको विश्वास अझ बढाउने सहभागीहरूले बताए ।
साथै छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता पनि औँल्यायो । नेपाली आतिथ्य र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्रता दिन पनि सहभागीहरूले विशेष अनुरोध गरे । बजारीकरण र प्रबद्र्धनका कार्यमा नेपाली र भारतीय समकक्षीहरूको संयुक्त प्रयास गराउन भारतीय पर्यटन सङ्घ–संस्थाहरूले आफ्नो सदस्यहरूलाई सक्रिय गराउने विषय पनि छलफल भयो ।
नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले गर्नुभएको प्रस्तावलाई आगामी दिनका छलफलले टुङ्गाउने सहमति पनि भएको छ । बोर्डले आगामी दिनमा भारतीय समकक्षीहरूसँगको छलफललाई तीव्रता दिने र यस किसिमको गन्तव्य वेभिनार संयुक्त रूपमा आयोजना गर्दै जाने निर्णय पनि सो अवसरमा भएको थियो ।