विश्वभर कोरोनाबाट २ लाख २८ हजार २२४ को मृत्यु : ३२ लाख २० हजार २६८ संक्रमित


काठमाडौँ, १८ वैशाख । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट २ लाख २८ हजार २ सय २४ जनाको ज्यान गइसकेको छ । संक्रमित सङ्ख्या ३२ लाख २० हजार २ सय ६८ पुगेको छ । वल्र्डमीटरको हाल सम्मको तथ्याङ्क अनुसार १० लाख ३ सय ५५ जना निको भएका छन् ।

उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्र्डओमिटले जनाएको छ । बुधवार विश्वभर कोरोना संक्रमणबाट ६ हजार ४५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका ८० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ ।

अमेरिकामा कोरोनाबाट ज्यान गुमाएको सङ्ख्यामा अझै कमी आएको छैन । आइतबार र सोमबार मृत्यु केही कम भए पनि मङ्गलवार र बुधवार अमेरिकामा दैनिक दुई हजार भन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना संक्रमणबाट दुई हजार ३५२ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको सङ्ख्या ६१ हजार ६१८ पुगेको छ । अमेरिकामा मात्रै संक्रमितको सङ्ख्या १० लाख ६३ हजार नाघेको छ । बुधवार एकै दिन अमेरिकामा साढे २७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यसै गरी युकेमा बुधवार ७६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै स्पेनमा ४५३, फ्रान्समा ४ सय २७, ब्राजिलमा ४४८, इटालीमा ३२३, मेक्सिकोमा १३५, स्वीडेनमा १०७, नेदरल्यान्डमा १४५, क्यानडामा १३७, बेल्जियममा १४५, रसियामा १०५, जर्मनीमा ९१, टर्कीमा ८९, इरानमा ८०, पेरुमा ८९ जनाले ज्यान गुमाएका छन् ।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७१ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म मृतकको सङ्ख्या एक हजार ७९ पुगेको छ भने संक्रमितको सङ्ख्या ३३ हजार नाघेको छ ।

भारतमा बुधवार मात्रै एक हजार ७३८ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा ८ हजार ४३७ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्