थप एक जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमितको संख्या ५८ पुग्यो


काठमाडौँ, १७ वैशाख । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै आज बुधवार एकै दिनमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश–२ मा बाराका दुई र पर्साका दुई गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश–२ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उनीहरू ३१, ४३, ४६ र ५० वर्ष उमेरका पुरुष रहेको सचिव घिमिरेले बताए । उनीहरूको स्वाब काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । बुधवार नै उनीहरूको रिपोर्ट आएको र चारै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको उनले घिमिरेले जानकारी दिए ।

चारै जना स्थानीय क्वारेन्टिनमा रहेको कोरोना पुष्टि हुने बित्तिकै उनीहरूलाई उपचारको लागि नारायण उपक्षेत्रीय अस्पताल वीरगञ्ज लैजाने तयारी भइरहेको सचिव घिमिरेले बताएका छन् ।

मङ्गलवार मात्र प्रदेश–२ को रौतहटमा दुई जनामा कोरोना संक्रमण भेटिएको थियो । योसँगै प्रदेश–२ मा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ । नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५८ पुगेको छ ।

जसमध्ये प्रदेश–२ का चार जना उपचारपछि घर फर्किसकेका छन् भने नेपालभर गरी १६ जना डिस्चार्ज भइसकेका छन् । सबैभन्दा बढी प्रदेश–१ मा ३१ जना कोरोना संक्रमित रहेका छन् । पछिल्लो समय प्रदेश–१ र २ मा कोरोना संक्रमणको बढी जोखिम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्