एकै परिवारका आठ सदस्यले कोरोनालाई जित्न सफल भए


काठमाडौँ, १७ वैशाख । भारतमा बस्दै आएका नेपाली एकै परिवारका आठ सदस्यले कोरोनालाई जित्न सफल भएका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित एकै परिवारका आठ नेपाली उपचारपछि निको भएका हुन् ।

अछामको चैरपाटी घर भई हाल भारतको मुम्बईमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो । बिबिसी न्युज नेपालीका अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरू झन्डै साढे तीन साताको अस्पताल बसाइपछि मुम्बईस्थित घरमा फर्किएर आराम गरिरहेका छन् । स्वास्थ्य लाभ गरेपछि उनीहरूले नयाँ जीवन पाएको बताएका बिबिसीले जनाएको छ ।

घर मुलीका अनुसार भारतमा लकडाउन घोषणा गर्नुअघि सुरुमा कार चालक आफ्नो माइलो भाइलाई ज्वरो आएको थियो । विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदा समेत निको भएन । त्यसपछि कोरोना आशंकामा परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भयो ।

त्यसपछि परिवारका ११ जनाकै स्वाब परीक्षण गरिएको घर मुलीले बताएका छन् । त्यस क्रममा उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा पनि कोरोना संक्रमण रहेको पत्ता लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्