बेलायत सरकारलाई नेपाली दूतावासको पत्र : नेपालीको ज्यान जाने क्रम बढ्दो


लण्डन, १६ वैशाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण बेलायतमा रहेका नेपालीहरूको ज्यान जाने क्रम बढेपछि बेलायतस्थित नेपाली दूतावासले बेलायत सरकारलाई नेपालीको अवस्थाबारे जानकारी गराउँदै पत्र पठाएको छ ।

यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना संक्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा उनीहरूमा भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको छ ।

यस सम्बन्धमा राजदूत स्वयंले ब्रिटिस सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षण समेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिएका छन् ।

बेलायतमा ३३ नेपालीको कोरोना संक्रमणबाट
बेलायतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ३३ नेपालीको ज्यान गइसकेको छ ।
लण्डनस्थित नेपाली दूतावासको सूचीमा रहेका ३३ मृतकमध्य २३ जना पूर्व गोर्खा सैनिक छन् ।

एनआरएनए युकेले अहिलेसम्म ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएको जनाएको छ । तीमध्ये २७ जना उपचारपछि घर फर्किसकेको र ११ जना अझै उपचाररत रहेको बताइएको छ । कोरोनाका लक्षण देखिएका कारण करिब डेढ सय नेपाली घरमै आइसोलेसनमा बसेका छन् ।

बेलायतमा कोरोनाबाट ठुलो संख्याका नेपाली प्रभावित भइरहँदा यहाँस्थित समुदायले समस्यामा परेकाहरूलाई सहयोगको प्रयास गरिरहेको छ । एनआरएनए युकेसहित अन्य केही संघसंस्थाले समस्यामा रहेका भूपू गोर्खा परिवारका वृद्धवृद्धा, विद्यार्थी लगायतलाई खाद्यान्न, स्वास्थ्य सामग्री लगायत सहयोग बाँड्न सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्