गृह मन्त्रालयले लकडाउनलाई पथ कडाइ गर्दै : यात्रु ओसार–पसारमा पूर्ण बन्देज


काठमाडौँ, १५ वैशाख । सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम अझै रहेको बताउँदै एक साता लकडाउन थपेको छ ।

तर, लकडाउनको अवधिमा पनि घर फर्किने र सर्वसाधारणको उद्धार गर्दै गाडीमा हुलका हुल मानिसलाई गाउँ फर्काउने काम भइरहेको छ । सामाजिक दुरीलाई समेत वास्ता नगरी उद्धार र घर फर्किने नाममा गाडीमा भिडभाड यात्रा गर्ने क्रम बढेपछि गृह मन्त्रालयले यसमा कडाइ थालेको छ ।

गाडीमा हुलका हुल मानिस ओसार्ने कामले कोरोना भाइरस संक्रमण फैलन सक्ने बताउँदै गृह मन्त्रालयले लकडाउनलाई थप कडा बनाउने ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले लकडाउनलाई पथ कडाइ गर्दै यात्रु ओसार–पसारलाई पूर्ण बन्देज लगाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र पठाएको छ । मन्त्रालयले पास बिनाका सवारीसाधनलाई आवतजावतमा पूर्ण रोक लगाउन निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यका, प्रदेश सदरमुकाम, जिल्ला सदरमुकामहरूमा बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रूपमा केही खुकुलो गराइएको थियो ।

पछिल्लो एक हप्तामा अलपत्र सबैको उद्धार भइसकेको ठहर गर्दै सोमबारबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सवारीसाधनमा भिडभाडमा यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकाले कडाइ गरिएको गृहको दाबी छ । अहिले पनि राजधानीलगायत विभिन्न जिल्लाबाट सर्वसाधारणलाई उद्धार गरी गाउँ फर्काउने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्