आरडीटी टेस्ट पोजेटिभ देखिएकी वीरगन्जकी २३ वर्षीय युवतीको मृत्यु


वीरगन्ज, १४ वैशाख । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगन्जमा मृत्यु भएको छ । वीरगन्ज–१० अशोक बाटिका बस्ने २३ वर्षीय युवतीको मृत्यु भएको हो ।

उनको शव अहिले नारायणी अस्पतालमा छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमुना सङ्कलन गरी परीक्षणका लागि हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।

उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । डा. उपाध्यायले युवतीको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन परीक्षण गरी हेटौँडा पठाइएको जानकारी दिँदै भने, ‘युवती ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ ।’

उनमा स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको स्रोतले जानकारी दिएको छ । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन गर्‍यो ।

लकडाउन सुरु भएको दुई दिनदेखि घरमै रहेको बेला स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि एडभान्सले आइसियुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आइसियु खाली नरहेको भन्दै बिरामीको भर्ना नै नलिई फिर्ता पठाएको परिवारका सदस्यहरू बताउँछन् ।

त्यसपछि शनिवार राति १० बजेतिर उनलाई तराई हस्पिटल एन्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो ।

त्यस क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिवार मृत्यु भयो । उनको टीकाटालो भइसके पनि बिहे हुन बाँकी रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्