बर्दियाबाट भारत गएका दुई भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि


काठमाडौँ, १४ वैशाख । बर्दियाको एक क्रसर उद्योगमा कार्यरत दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बर्दियाबाट भारत गएका दुई भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत उनीहरूमा कोरोना पुष्टि भएपछि क्रसर उद्योग र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएका छन् ।

कोरोना पुष्टि भएका भारतीय नागरिक वैशाख ५ गते बर्दियासँग सीमा जोडिएको भारतको बहराइच गएका थिए । भारतीय पक्षले उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रवार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरू संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको हो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरूको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको प्रजिअ लामिछानेले बताएका छन् ।

प्रहरी कार्यालय जनपथ बहराइचका सुपरिटेन्डेन्टले हस्ताक्षर गरेको सो पत्रमा ती मजदुरहरू वैशाख ५ गते साँझ आफ्नो घर फर्किएको र ८ गते स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको उल्लेख छ । यद्यपि पत्रमा, र्‍यापिड टेस्टबाट हो कि पीसीआरबाट परीक्षण गरिएको हो भन्ने स्पष्ट उल्लेख छैन ।

त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण नदेखिएको प्रजिअ लामिछानेले बताएका छन् ।
उनप् भन्छन्, ‘हामीले थाहा पाउन साथ पीसीआर टेस्टका लागि पठायौँ तर, कसैमा पनि पोजेटिभ रिजल्ट आएको छैन ।’

उनीहरू कार्यरत क्रसर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिक रहेको जनाइएको छ । कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल र भारत दुवै पक्षले सीमा नाका बन्द गरे पनि ती भारतीय नागरिकहरू भारतबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरूका अनुसार कोरोना देखिएका दुई जना भारतीय नागरिकहरू वैशाख ५ गतेसम्म बर्दियामै रहेकाले बर्दिया जिल्ला जोखिममा छ ।

यसैबिच बर्दियाकै एक जना व्यक्तिलाई भारतमा कोरोना संक्रमण पुष्टि भएको छ । ठाकुरबाबा नगरपालिका घर भएका ती व्यक्ति भारतबाट नेपाल फर्किने क्रममा भारतीय पक्षले सीमानामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । त्यसपछि उनलाई भारतीय पक्षले नै नेपाल आउन नदिई क्वारेन्टाइनमा राखेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्