काठमाडौँ, १३ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने सङ्ख्या १२ पुगेको छ । एक जना महिला र एक जना पुरुष गरी थप दुई जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
धैलागिरी प्रदेशीक अस्पताल, बागलुङमा उपचाररत १९ वर्षीय एक महिला र भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय एक पुरुष उपचार पछि निको भएका हुन । देशका विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेका केहीमा औँलोको लक्षण पनि भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तर, कहाँको क्वारेन्टाइनमा रहेका कतिमा औँलोको लक्षण देखिएको भन्नेबारे सम्पूर्ण जानकारी प्राप्त भइनसकेको मन्त्रालयले जानकारी दिएको छ । आज (शनिवार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको बताइएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’ बाट ३९ हजार ६७० जनाको परीक्षण गरिएको र ‘पीसीआर’ बाट नौ हजार ६६६ जनाको परीक्षण गरिएको जानकारी दिएका छन् ।
गर्मीयाम सुरु भएसँगै औँलोको खतरा पनि बढेको भन्दै डा. देवकोटाले क्वारेन्टाइनमा रहेकाहरूमा पनि औँलो देखिएको जानकारी दिएका छन् ।
यस्तै, हाल प्रदेशहरूमा २५ हजार ४४६ जनाको आरडीटी परीक्षण गरिएको भन्दै डा. देवकोटाले प्रदेश नम्बर–५ मा सबैभन्दा बढी सात हजार ९५६ जना ‘क्वारेन्टाइन’ मा रहेको र सबैभन्दा कम वाग्मती प्रदेशमा रहेको जानकारी दिए ।
यता भरतपुरको कोरोना अस्पतालमा उपचारमा रहेका २७ वर्षीय युवक पनि निको भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या १२ पुगेको र अझै ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेको उनले जानकारी दिए ।
सो अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर समस्या देखिए मात्र अस्पताल आउन आग्रह गरे ।