डोटीमा कोरोना परीक्षण सबै रिपोर्ट नेगेटिभ : एक हजार ९९० जनाको परीक्षण


डोटी, १३ वैशाख । एक हजार ९९० जनाको डोटीमा भएको कोरोना परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ ।

हालसम्म ३३७ पिसिआर र एक हजार ६५३ र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो ।

पिसिआर र र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा शुक्रवार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए–नभएको बारे जानकारी लिन र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण गरिएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एक जना गरी कुल ३९ जनाको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । उनका अनुसार पाँच महिला र ३४ पुरुष गरी कुल ३९ जनाको कोरोना परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्