दुई प्रहरी निरीक्षकद्वारा सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपीमाथि कुटपिट


रुपन्देही, १३ वैशाख । सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी मानबहादुर शाहीमाथि ब्यारेकभित्रै कुटपिट भएको छ ।

रुपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाही माथि ब्यारेककै प्रहरी निरीक्षकद्धय केशव भट्टराई र दयाराम पौडेलले कुटपिट गरेका हुन् । ब्यारेक बाहिरबाट मादक पदार्थ सेवन गरी मङ्गलवार साँझ डिएसपीमाथि कुटपिट गरेको सशस्त्र प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीले ब्यारेकमा मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरू ब्यारेक बाहिर निस्केर मादक पदार्थ सेवन गरी ब्यारेक प्रवेश गरेका थिए । ब्यारेक भित्र मादक पदार्थ खाएर आउन पाइँदैन भन्ने थाह छैन भनेर डिएसपीले सम्झाउँदा उनीमाथि हातपात भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाहीको थालेको छ । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रवीण श्रेष्ठले डिएसपीमाथि हातपात भएको खबर आएको र हातपात गर्ने प्रहरी अधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनले ब्यारेकबाहिर गएर मादक पदार्थ खाएर डिएसपीमाथि हातपात गरेका कारण उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको बताए । हातपात गर्ने प्रहरी निरीक्षक पौडेल भने यसअघि पनि आफ्नै महिला सहकर्मीलाई हातपात गरेको अभियोगमा कारबाहीमा परेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्