बेलायतमा कोरोनाबाट ४९ वर्षीय विजय गुरुङको मृत्यु


लण्डन, १० वैशाख । बेलायतमा ४९ वर्षीय एक नेपालीको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु भएको छ । बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’ मा उपचारका क्रममा गत आइतबार साँझ ज्यान गएको हो ।

कास्की, यान्जाकोट घर भएका मृतक गुरुङ हङकङ हुँदै बेलायत आएका हुन् । बेलायतमा आफ्नो परिवारका साथ बस्दै आएका मृतक गुरुङका श्रीमती र एक छोरा छन् । ढाडको समस्याबाट पीडित गुरुङको गत डिसेम्बरमा काठमाडौँस्थित ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

त्यसपछि केही समय आराम गरेर फेब्रुअरीको पहिलो साता उनी बेलायत एका थिए । ढाडको समस्या ठिक नभएकाले नियमित औषधिको सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अप्रिल १३ मा अस्पताल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिएका गुरुङको दुई दिनपछि मृत्यु भएको थियो । दुई दिनपछि अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’ मा उनलाई निमोनिया र कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

मृतक गुरुङ रेडिंग तमु समाजका आजीवन सदस्य समेत रहेका थिए । बेलायतमा कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीहरूको सङ्ख्या १९ जना पुगिसकेको छ । मृत्यु हुनेहरूमा करिब एक दर्जन जति पूर्व गोर्खा सैनिकहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्