नेपालमा कोरोना संक्रमित सङ्ख्या ४२ पुग्यो


काठमाडौँ, ९ वैशाख / नेपालमा कोरोना संक्रमित सङ्ख्या ४२ पुगेको छ । मङ्गलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमित सङ्ख्या ४२ जना पुगेको जनाएको हो ।

उदयपुरमा त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भई विराटनगर स्थित कोसी अस्पतालमा उपचाररत रहेका छन् ।
उक्त संक्रमित पुष्टि भएकाहरूसँग सम्पर्कमा रहेका २६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परीक्षण भइरहेको छ ।

अन्य थप ६९ जनाको परीक्षणको लागि विराटनगर स्थित कोसी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परीक्षणको लागि आज वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परीक्षण गर्दा थप पुष्टि भएकोले उनीहरूलाई हाल कोसी अस्पतालमा नै उपचारको लागि पठाइएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

हाल पुष्टि भएको संक्रमितहरुमा १८ वर्षीय २ जना साथै २०, ३३, ४०, ४१, ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र १ जना उमेर नखुलेकी महिला गरी जम्मा ११ जनाको नतिजा पोजेटिभ देखिएको छ ।

यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड १९ पुष्टि भएको सङ्ख्या ४२ पुगेको छ भने ४ जना निको भएर घर फर्की सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्