मन्त्रिपरिषद् बैठक बस्दै : लकडाउ लम्ब्याउने तयारी


काठमाडौँ, २ वैशाख । आज मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकमा कोरोना भाइरस रोकथामका कार्य तथा लकडाउनबारे छलफल हुने छ।

मन्त्रिपरिषद्को बैठक बिहान ११ बजे बस्ने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । दोस्रो पटक थपिएको लकडाउनको अवधि भोलि (बुधवार) सकिंदैछ भने अझै कम्तीमा पनि एक हप्ता लम्ब्याउने सरकारको तयारी रहेको स्रोतले जनाएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गते बिहान ६ बजेदेखि देशभर लकडाउन गरेको छ । सुरुमा चैत १८ सम्म तोकिएको लकडाउन अवधि पुनः थपेर वैशाख ३ गतेसम्म लम्ब्याइएको छ ।

तर कोरोना सङ्क्रमित देखिने क्रम झन् बढ्दै गएपछि सरकारले लकडाउन अवधि लम्ब्याउने तयारी गरेको हो । यो महामारी फैलिन नदिन विश्वमै निर्विकल्प उपाय देखिएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिकता दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना विरुद्धको लडाईकन प्रगतिको आधारमा हेरेर लकडाउनबारे थप निर्णय गरिने हिजो (सोमबार) बताएका थिए । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको सङ्ख्या १४ पुगेको छ । तीमध्ये एक जना पहिल्यै निको भइसकेकाले अहिले १३ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्