कैलालीकी कोरोना संक्रमित महिलासँगै सम्पर्कमा आएका १६ जनालाई क्वारेन्टाइनमा राखियो


कैलाली, १ वैशाख । कैलालीको लम्की चुहा नगरपालिका–१ की ६५ वर्षीय महिलामा कोरोना सङ्क्रमण देखिएपछि परिवारका १६ जनालाई क्वारेन्टाइनमा राखिसकेको छ । उनको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।

उनको परिवारका १६ जनालाई क्वारेन्टाइनमा राखिसकेको कैलाली प्रहरीले जानकारी दिएको हो । उनको सम्पर्कमा आएकाहरूको पनि खोजी तीव्र पारिएको छ ।

‘चैत्र १७ गते वीरगन्जबाट बसमा उनीसँगै ३४ जना आएको भन्ने कुरा आएको छ । उनीहरू सबैको खोजी थालिसकेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष कुमार बस्नेतले भने, ‘बस नम्बर र ३४ जना यात्रुको खोजी गरिरहेका छौँ भेट्टाउन साथ सबैलाई क्वारेन्टाइनमा राख्छौ ।’

यसैबिच लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईँले महिलासहित उनकै नाता पर्ने काका, भतिजा, नाति, नातिनालगायत १७ जनाको टोलीसँगै आएको जानकारी दिए ।

‘उनीहरूमध्ये महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा पठाइसकेका छौँ भने १६ जनालाई लम्की क्वारेन्टाइनमा राखेका छौ’ उनले सुनाए । अन्य १७ जना कुन ठाउँका हुन् भन्ने थाहा नभएको तर, खोजी सुरु भइसकेको उनले बताएका छन् ।

केही दिन पहिला काठमाडौँबाट आएको तालिम प्राप्त टोलीले महिलालार्ई यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेगेटिभ देखाएपछि उनी लगायत अन्यलाई पनि घर पठाइएको नगर प्रमुख बजगाईँले बताए ।

पछि पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बजगाईँले बताए । योसँगै नेपालमा कैलाली जिल्ला सबैभन्दा धेरै सङ्क्रमित फेला परेको जिल्ला बनेको छ । हालसम्म नेपालमा संक्रमितको सङ्ख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्