प्रमुख सेनानी विष्टको शव लिन श्री एयरलायन्स उड्यो सुडान


काठमाडौँ, २९ चैत । श्री एयरलायन्सको जहाज सुडान मिसनका क्रममा निधन भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश विष्टको शव लिन शनिवार बिहान सुडानका लागि उडेको छ । सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा विष्टको निधन हृदयघातबाट भएको थियो ।

संयुक्त राष्ट्रसंघको सुडान मिसनमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको शव आइतबार दिउँसो काठमाडौँ ल्याइने छ । कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकले गरेको लकडाउनका कारण यो चार्टर उडानको अनुमति लिन झन्डै दुई साता ढिलाइ भएको हो ।

सुडान पुग्न नेपाल हुँदै उड्नुपर्ने मुलुकहरू भारत, पाकिस्तान, मस्कट, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो ।

यो चार्टर उडानको खर्च संयुक्त राष्ट्र सङ्घले बेहोर्ने सैनिक प्रवक्ता सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । श्रीले आन्तरिक रुटमा उडाउँदै आएको यो सीआरजे विमान काठमाडौँबाट सिधा सुडान उडान गर्ने क्षमताको भने होइन ।

काठमाडौँबाट बिहान पौने ८ बजे उडेको यो विमान मस्कटमा इन्धन भर्न टेक्निकल ल्याण्डिङ गर्नेछ । त्यहाँ त्यहाँ इन्धन भरेर सुडानस्थित खारथुम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

फर्किँदा पनि मस्कटमा अवतरण गरेर भोलि दिउँसो मात्रै काठमाडौँ फर्किने छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार यूएनको सुडान मिसनमा खटिएका प्रमुख सेनानी रिदेश विष्टको चैत १७ गते हृदयघातका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्