लकडाउनका सूत्रहरू र दैनिकीबाट उठेका प्रश्नहरू : भाग १


एन.पी.भण्डारी । सुन्दरहरैँचा १२, मोरङ –

सुरुआत –

यो समयमा हामी सबै जना लकडाउनको जीवन व्यतीत गरिरहेका छौँ । तपाईँ घरमै हुनुहुन्छ होला । घरमा भए पनि संसारले यो वेला इतिहासकै सबैभन्दा ठुलो र अनौठो सङ्घर्ष र झेलिरहेको छ भन्ने पनि बुझेकै छौँ । हामी त्यसका पात्र छौँ, सङ्कटबाट उम्कने प्रयासमा छौँ ।

यो सङ्कट कसरी सकिन्छ भन्ने कसैलाई थाहा छैन । आजको दिनको चित्रहरू सुखद छँदै छैनन् । सबैभन्दा दुखद चित्र र चीत्कार युरोपेली मुलुकबाट समाचारमा आङै जिरिङ्ग बनाउने गरी आइरहेका छन् । संसारका सबै देशका सरकारले जनतालाई प्यानीक नहुनु, होसियार रहनु भनेका छन्।

दैनिकी बदलिए, व्यवहार बदलिए र केही प्रश्नहरू मनमा आए । यस खण्डमा यस्तै यो समयका नयाँ र अनौठो लागेका सवाल उठान मात्र गरिएको छ । अर्को खण्डमा सुखद चित्र र सङ्कटमा हाम्रो शिक्षा गुणस्तर परीक्षण प्रस्तुत छ ।

विश्लेषण –

(क) सूत्रबाट चल्नुपर्ने आजको वास्तविकता

यो समयमा दैनिकी बदलेर हामी सबै मानिस मूलतः विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेका सूत्रबाट चल्दै छाँै । सूत्रहरू यस्ता छन् ः “स्टे एट होम टु सेभ लाइफ अर्थात् जीवन बचाउन घरै बस्नुहोस् । सोसल डिस्टेन्सिङ कायम गर्नुहोस् अर्थात् सामाजिक दुरी बढाउनुहोस् , नजिक नजानुहोस्, नजिक नआउनुहोस् अर्थात् सामाजिक दुरी बढाउनुहोस्, अत्यावश्यक काम परेमा घरबाहिर जानुपरे मास्क लगाएर अर्थात् मुख, नाक र आँखालाई ढाकेर मात्र जानुहोस्, अति आवश्यक काम बाहेक बाहिर जाँदै नजानुहोस् , साबुन पानीले पटक पटक हात धुनुहोस्, सेनिटाइजर प्रयोग गर्नुहोस् । ह्याछ्यु गर्दा कुहिनाले छोप्नुहोस्, ज्वोरो आएर सुख्खा खोकी लागे तुरुन्तै स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस् , हात धेरै पटक धुनुहोस्, हात साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची धुनुहोस् ”। विकसित अविकसित सबै देशका मानिसका स्वास्थ्य सुरक्षाका लागि यी साझा सूत्रहरू हुन् । गरिब र धनी सबैका लागि सूत्र एउटै हुन् ।

(ख) परम्परा विपरीतका दैनिकीहरू

यसवेला हाम्रा दैनिकीहरू बिलकुलै नयाँ तरिकाले चल्न थालेका छन् । हाम्रा आनीबानीमा नसोचेका परिवर्तन देखिँदैनन् । दिनहरू सपना झैँ चलिरहेका छन् । यो बेलाको घरको बसाइ आम हडतालको जस्तो लाग्छ तर यो आमहड्ताल होइन, जेल परिएको त होइन जस्तो लाग्छ तर त्यो पनि होइन, कर्फ्यु जस्तो लाग्छ तर त्यो पनि होइन । घर बसाइको कारण अचम्मको छ । अचम्म लाग्नुपर्ने कारण हाम्रो दैनिकीहरूको उल्टो बहावट हो । हामी यो समयमा जे जस्ता गतिविधि गर्दै छौँ ती सबै सपनाको स्वरूपका छन् जुन बिपना भन्दा फरक छन् । गर्दै गरेको व्यवहार सपना त होइन रु भनेर सपनाबाट व्युझँदाको जस्तो गर्नुपरेको छ । मानिस आफैँ घरभित्र लुक्नुपर्ने दिन आउँछ भन्ने सोचेकै थिएन । अरूलाई चकित पार्ने सुन्दर अनुहारमा हलगोरु जोत्न लैजाँदा लगाइने महला जस्तो मास्क लगाएर हिँड्दै छौँ । त्यसैले यी अपत्यारिला र चकित पार्ने बिपनाका सपनाहरू हुन ।

मैले मेरो आजको समय सम्झनुपर्ने भएको छ । म कुन दिन, कुन बार र कति बजेको समयमा छु भनेर निकै बेर लगाएर सम्झनुपर्ने भएको छ । घुम्न निस्केका गोडालाई बुझाउनु परेको छ कि तिमी हिँड्दा कोरोना सर्छ, जोखिम छ कतै नजाऊ भनेर । शारीरिक अभ्यासहरू पनि परम्परा विपरीत गर्नु पर्दै छ । मर्निङ वाक बाटो हिँडेर हुन्थ्यो अहिले घरकै सिँढी चढ्ने र ओर्लने हुँदै छ । सधैँ व्यस्त रहने म अहिले फुर्सदिलो भएको जस्तो छु । बिदा मनाएको जस्तो भइरहेको छ तर होइन किनकि म बिदा मनाउने समयमा बाआमालाई भेट्न जाने गर्थेँ या त घुमफिर गर्न । म दुवै गरिरहेको छैन । अरुबेला दुई चार दिन भेट्न नजाँदा चित्त दुखाउने बा आमालाई यसपालि म यतिका दिन भेट्न नजाँदा दुख लागेको छैन । छोरी र श्रीमतीले पनि घुम्न रहर गरेका छैनन् ।

छोरीलाई काखमा राख्न डराएको छु, छोरी र श्रीमतीलाई पनि मलाई धेरै नजिकबाट माया नगर भनेको छु र मेरो सल्लाह उनीहरूलाई मञ्जुर छ । आफ्ना आफन्त र पाहुनालाई नआउन सूचना गरेको छु । बुझेरै होला घरमा पाहुना पनि नआउने भन्ने सुनेको छु । चेलीबेटी भान्जाभान्जी कोही नआएको एक हप्ता नाघी सक्यो । म र मेरा परिवारका सदस्य मावल, ससुराली जान नसक्ने निर्णयमा पुगेका छौँ । उताबाट पनि घुमाउरो पाराले नआउनु भन्ने खबर पठाएका छन् तर मैले कुनै दुख मानेको छैन । साथीभाइले फेसबुकको पर्दामा म पनि आउँदिन तपाईँ पनि मलाई भेट्न नआउनुहोला भनेर पत्र लेखेका छन् । कुरा बुझ्न थालेको छु, त्यसैले उनीहरूसँग कुनै गुनासो छैन ।
खाडीमा पैसा कमाउन गएकाहरूलाई सरकारले अहिले नै नआउनु भन्दा पनि हतार हतार आएका छन् । बिचरा घर आएका हुन । उनीहरू आफ्नै देश प्रवेश गर्ने ठाउँमा रोकिएको छ । भागेर, नदीमा हाम फालेर र लुकेर आउनु परेको दिन कस्तो अनौठो भइरहेको छ । गाउँमा पनि गेट लागेको छ । टिकट भइसकेको थियो होला, घर आए । घर गाउँ आएकालाई पनि आमा बा कै खुसीमा सेल्फ क्वारेन्टीनमा राखिएको छ । रोजगारीबाट भर्खर आएको भाइलाई मैले भेट गर्न नआउनु , आइहालेपनि छेउमा आएर अभिवादन नगर्नु , आइहाले पनि अङ्कमाल नगर्नु, ३ फिट टाढै बस्नु भनेको छु ।

म थप विपरीत काम हिजोको भन्दा उल्टो विधिबाट गरिरहेको छु । अल्कोहल नछुनु भन्ने सल्लाह दिइएको तर अहिले साठी प्रतिशत अल्कोहलको मात्रा भएको सानिटाइजरले हात धुनु भनिरहेको छु । मेरा बुढा बा आमालाई समेत अल्कोहलिक सानिटाइजरले हात धुन लगाउनु परेको छ । मेरा अनन्य सहकर्मी यही लकडाउनको समयमा बित्नु भयो, अन्तिम पटक अनुहार हेर्ने मनलाई मिचेर लकडाउनको निमय पालना गर्दै घरमा नै बसेँ न त दाहसंस्कारमा उपस्थित हुन नै गएँ । ३० जना मानिसको उपस्थितिमा मात्र उहाँको दाहसंस्कार भयो भन्ने नमिठो खबर आयो । उहाँको आत्माले पनि कुरा बुझेको हुनुपर्छ किनकि म लकडाउनमा छु । हामी यति धेरै विपरीतका कुरा सजिलै स्वीकार गर्न थालेका छौँ ।

विदेशका खबर उस्तै छन् । इटालीको एउटा भिडियोमा पत्रकारले महामारीबाट मृत मानिसका बाकसहरूको लस्कर देखाउँदै यी मानिसका आफन्त अस्पताल आएनन्, मरेपछि पनि कोही आफन्त छैनन् र दाहसंस्कारमा पनि आफन्तहरू सामेल हुने छैनन् भन्दै गर्दा हेर्न सकिन र भिडिओ बन्द गरिदिएँ । यता मेरै देशको खबर सुन्दै छु आइसोलेसनमा बसेका बिरामीको परीक्षण हुन सकेन । डाक्टर पिपिइ नभएर छेउ परेनन्, रोगको पहिचान हुनु अघि नै मृत्यु भयो । अनि लास बुझ्न श्रीमती बाहेक कोही आएनन् । अझै लास उठ्न सकेको छैन । आर्यघाटमा पनि समस्या आइसक्यो । यो समाचारले त झनै मन अमिलो बनाएको छ । ज्वोरो आएका बिरामी आउँदा डाक्टरले हेर्न मानेका छैनन् भन्ने सुन्दै छु । म झस्कन्छु र लाग्छ मेरो हालतपनि उही होला ।

(ग) केही प्रश्नहरू

जटिल पक्ष त के छ भने यदि यस्ता नयाँ अभ्यासले निरन्तरता पाए भने हाम्रो समाज कस्तो होला ? यो परिवर्तन क्षणिक हो या लामै समयसम्म चल्छ ? यस्ता अभ्यास निरन्तर चलिरहने त होइनन् ? कतै यस्तै विपरीत काममा अभ्यस्त बनिने त होइन रु हामी बिस्तारै लकडाउनका लागि पुरै अभ्यस्त हुँदै छौँ की रु आज भइरहेको कतै प्राकृतिक रूपमा अर्थपूर्ण पो छ की ? गर्ड पार्टिकल हुने कुरा त वैज्ञानिकहरूले भनेकै हो । हाम्रा अगाडिका दिन कति आसलाग्दा छन् र कति निराशाले भरिएका छन् ? अबको विश्व कस्तो हुन्छ होला ? यी केवल प्रश्नका रूपमा प्रस्तुत छन् । आएका उत्तरमा केही उज्ज्यालापक्षहरूलाई अर्को खण्डमा आज र भोलीको स्वास्थ्य व्यवस्थाको विकासको सुखद चित्र र आजकै दिन हाम्रा विद्यालय देखि विश्वविद्यालय तह सम्मका शिक्षाका उद्देश्यहरूमा केन्द्रित भई हाम्रा शैक्षिक योग्यताका परीक्षणलाई आजको सङ्कटको मध्य समयबाट क्षितिजमा देखिएका सुखद चित्रसम्मलाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्