अमेरिकाले कोरोना भाइरसबाट बचाउन परीक्षण खोप चार जनालाई लगाए


काठमाडौँ, ४ चैत । कोरोना (कोभिड–१९) भाइरसबाट मानिसलाई बचाउन पहिलोपल्ट अमेरिकामा विकास गरिएको परीक्षण खोप चार जनालाई लगाइएको छ ।

अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गरिएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् ।अमेरिकाको वासिङ्टनअन्तर्गत सिएटल सहरस्थित काइजर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनालाई परीक्षण खोप लगाइएको समाचार एजेन्सी एशोसिएटेड प्रेसले उल्लेख गरेको छ ।

जसअन्तर्गत सबभन्दा पहिले दुई सन्तानकी आमा ४३ वर्षीय जेनिफर हालेरलाई खोप दिइएको समाचार संस्था एपीले जनाएको छ । खोप लगाएपछि उनले भनेकी छन्, ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो ।’ एमआरएनए–१२७३ नाम दिइएको यो खोपले भाइरसको सङ्क्रमणबाट जोगाउने वा रोग विरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

एमआरएनए खोप भने कोभिड–१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरूले बनाएको बताएका छन् । तर खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने अनुसन्धानकर्ताले बताएका छन् ।

यसमा स्वयमसेवकहरुलाई प्रयोगात्मक खोपका विभिन्न डोज दिइएको छ । उीहरुलाई २८ दिनको फरकमा दुई–दुई पटक खोप दिइने जनाइएको छ । सुरुवाती परीक्षण सफल भए पनि यो खोप साधारण व्यक्तिलाई दिने गरी तयार पार्न १८ महिनासम्म लाग्ने बताइएको छ ।

परीक्षण खोप लगाउन स्वस्फूर्त रूपमा ४५ जना तयार भएको अमेरिकाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्