गिट्टी कुट्ने दिदी


तारा पराजुली

यति बेला
बेखबर जूनलाई सम्झियौ होला
उही पुरानो कुन्जोमा फेसो हाल्दै
बेपत्ता उसका पाइलाहरू भुईँभरि खोज्यौ होला।

अँध्यारोका जुनकिरी बोलाएर
बिच बाटोका पदयात्री रोकेर
उसको खबर सोध्यौ होला
उसले लगाएका वर बगैँचा
लटरम्म खुसीहरू आँखाभरी झुण्डिरहँदा
तिमीले पनि कति कति विरह र वेदना फलायौ होला।

हाँडीबाट उछिट्टिएको मकै झैँ
उ आँखाबाट उछिट्टिएको यस्तै बेला त हो
सम्झिरहन्छु आवाजहरूमा
अभावको घुम खप्टिँदै
ट्वाक् ट्वाक् ट्वाक गिट्टी कुटिरहेकी तिमीलाई।

चुहिने पालमाथि टाँगेको वर्तमान उतिखेरै चुहिन्थ्यो
अझै त्यसैले छल्दै हौली यी घामपानी
त्यसैले टार्दै हौली यी साँझबिहान।

मलाई थाहा छ
रहरले रहरकै छानो उक्लिँदै फुल्थे ती जंगली फूलहरू
तर रित पूरा गर्न मात्र फुल्थेआंगनका फूलहरू।
त्यो एक्लो र रोगी नियती अझै उसैगरी पछ्याइरहेको होला लखर लखर।

हराएका आँसुहरू खोज्दै
कैयौँ भोल्गाहरु छाम्यौ होला
हेर्दै शिशिरको उदास उदास रुख
सम्झिँदै रित्तो रित्तो खाली खालीआकास
भन्थेउ,खोजिरहन्छु नभेटिएसम्म यी आँखाका मोतीहरू।

रहर गनाउने यी माटोका डल्लाहरू देखेर
सराप्छौ होला
धिक्कार्छौ होला
थुक्छौ होला
तर नथुक्नु माटोलाई झुक्किएर पनि
नसराप्नू माटोलाई बिर्सिएर पनि
साह्रै ठुलो गुन लगाएको छ माटोले त
टेक्ने छाती दिएर
सहने मन दिएर।

 

(बेलबारी मोरङ)

प्रतिक्रिया दिनुहोस्