बेलबारी, मोरङ । बेलबारीको साहित्यिक गतिविधि, सिर्जना यात्रा र स्रष्टाहरूको योगदानलाई दस्ताबेजीकरण गर्ने उद्देश्यसहित बेलबारी साहित्य विकास समिति, बेलबारीले साहित्यिक स्मारिका ‘सिंहावलोकन’ प्रकाशन तथा लोकार्पण गरेको छ । शनिवार बेलबारी नगरपालिका सभाहलमा आयोजित विशेष समारोहका बिच उक्त स्मारिकाको औपचारिक लोकार्पण गरिएको हो ।
समितिका विगतका गतिविधि, साहित्यिक कार्यक्रम तथा संस्थाको यात्रा समेटिएको स्मारिकामा ५६ जना लेखक तथा साहित्यकारका लेख, रचना र विभिन्न गतिविधिका तस्बिरहरू समावेश गरिएका छन् । स्थानीयदेखि राष्ट्रियस्तरसम्मका स्रष्टाको सिर्जना समेटिएको स्मारिकालाई बेलबारीको साहित्यिक इतिहास र पहिचानलाई अभिलेखीकरण गर्ने प्रयासका रूपमा हेरिएको छ ।
कार्यक्रममा समितिका मुख्य सल्लाहकार तथा स्मारिकाका प्रधान सम्पादक ईरान राईले स्मारिका प्रकाशनको उद्देश्य, यसमा समेटिएका सन्दर्भ तथा साहित्यिक गतिविधिको महत्वबारे प्रकाश पारेका थिए । उनले साहित्य सिर्जना केवल अभिव्यक्तिको माध्यम मात्र नभई समाजको चेतना, संस्कृति र समयलाई दस्ताबेजीकरण गर्ने सशक्त माध्यम भएको उल्लेख गरे ।

शुभकामना मन्तव्यका क्रममा उपन्यासकार मधु गुरुङ, समीक्षक डा. दीपक न्यौपाने, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्र प्रसाद कोइराला, समाजसेवी प्रताप थापा, शंकर गुरुङ, मनकुमार गुरुङ लगायतले बेलबारी साहित्य विकास समितिले कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । वक्ताहरूले साहित्यिक अभियानमार्फत बेलबारीलाई राष्ट्रिय स्तरमा परिचित गराउने दिशामा समिति सक्रिय रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले स्मारिकालाई केवल पुस्तक नभई साहित्यिक दस्ताबेजका रूपमा व्याख्या गरे । उनले स्मारिकामा राष्ट्रका प्रतिष्ठित लेखक-साहित्यकारदेखि कक्षा ६ सम्म अध्ययनरत स्थानीय विद्यार्थीका लेख र रचनासमेत समेटिनु सकारात्मक र प्रेरणादायी प्रयास भएको बताए । नगरप्रमुख राईले साहित्यिक संस्था र स्रष्टासँग सहकार्य तथा सामूहिक सक्रियताबाट सिर्जनात्मक क्षेत्र अझ सशक्त बन्ने उल्लेख गर्दै बेलबारी नगरपालिकाले कला र साहित्य क्षेत्रलाई समेत प्राथमिकता दिँदै बजेट विनियोजन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा अग्रज साहित्यकार, लेखक, समीक्षक, विभिन्न साहित्यिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधि, शिक्षाविद्, बौद्धिक व्यक्तित्व र साहित्य प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । लोकार्पण समारोहलाई अझ सजीव बनाउँदै पथरीका साहित्यकार अशोक साम्पाङ (विद्रोही कान्छा), इटहरीका साहित्यकार श्री प्रसाद पोख्रेल, विनोद विवश र गणेश बाछानाले आफ्ना सिर्जना वाचन गरेका थिए ।
कार्यक्रम बेलबारी साहित्य विकास समितिको अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो । समितिका उपाध्यक्ष गोविन्द चोङ्बाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संयुक्त सञ्चालन शिव सहयात्री र विमला सुवेदीले गरेका थिए ।


