आगलागी प्रभावित व्यवसायीलाई बेलबारी उद्योग वाणिज्य संघको सहयोग : रु. ८० हजार ५ सय हस्तान्तरण


बेलबारी, मोरङ । बेलबारी नगरपालिका-३ मा गत बुधबार मध्यराति भएको आगलागीबाट प्रभावित व्यवसायी परिवारलाई राहतस्वरूप बेलबारी उद्योग वाणिज्य संघको नेतृत्वमा नगद सहयोग प्रदान गरिएको छ । शनिबार आयोजित कार्यक्रममा आगलागीबाट प्रभावित तीन व्यवसायी परिवारलाई जम्मा रु. ८० हजार ५ सय आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

संघका कार्यवाहक अध्यक्ष सन्दिप राईका अनुसार आगलागीका कारण व्यवसाय तथा दैनिक जीविकोपार्जनमा प्रत्यक्ष असर परेका व्यवसायीहरूलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले दूध डेरी पसलका सञ्चालक चन्द्र दाहाल, सिद्धार्थ होटलका सञ्चालक तिर्थ श्रेष्ठ तथा फ्रेस हाउसका गोपाल पार्सीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग संकलन अभियानअन्तर्गत बेलबारी उद्योग वाणिज्य संघबाट रु. ३० हजार, मारवाडी सेवा समाज बेलबारीबाट रु. २७ हजार ५ सय, बेलबारी मदिरा व्यवसायी संघबाट रु. १२ हजार ५ सय, बेलबारी ग्रिल व्यवसायी संघबाट रु. ५ हजार, होटल व्यवसायी नवीन थापाबाट रु. २ हजार ५ सय, रेड भेलभेट क्याफेका अजित भगतबाट रु. २ हजार तथा प्रकाश गुरुङ (हरि) बाट रु. १ हजार सहयोग उपलब्ध भएको कार्यवाहक अध्यक्ष राईले जनकारी दिएका छन् । 

अध्यक्ष राईले विपद्को समयमा समुदायस्तरबाट गरिएको सहकार्यले प्रभावित परिवारलाई मनोबल दिने विश्वास व्यक्त गरे । साथै बेलबारी नगरपालिकासँग समेत समन्वय गरिएको र नगरपालिकाले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिँदै अध्यक्ष राईले अन्य व्यवसायी तथा सरोकारवाला पक्षलाई पनि सहयोगमा सहभागी हुन अपिल गरेका छन् । 

स्थानीय स्तरमा भएको यो सहयोग अभियानले संकटको समयमा समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्