स्थानीय साहित्यलाई अन्तर्राष्ट्रिय उचाइतर्फ लैजाने कवि बादल चाम्लिङको ‘नाइटमेयर’ सार्वजनिक

पूर्वका कवि चाम्लिङको अनुवाद कृतिले नेपाली साहित्यलाई विश्वसँग जोड्ने विश्वास


बेलबारी (मोरङ) । पूर्वका चर्चित कवि तथा अनुवादक बादल चाम्लिङद्वारा अनूदित कवितासङ्ग्रह ‘नाइटमेयर’ एक विशेष साहित्यिक समारोहबिच सार्वजनिक गरिएको छ । बेलबारी-३ स्थित यालाङ होटेलको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा राजनीतिक व्यक्तित्व हर्कमान तामाङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, समीक्षक डा. मोहन तुम्बाहाङ तथा अनुवादक कवि बादल चाम्लिङले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

बेलबारी साहित्य विकास समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्‍याउने उद्देश्यसहित प्रकाशित गरिएको उक्त कृतिलाई स्थानीय साहित्यिक आन्दोलनका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार हर्कमान तामाङले विश्वस्तरका उत्कृष्ट साहित्यिक कृतिहरूको अध्ययन, अनुसन्धान र अनुवादलाई अझ व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन यस्ता कृतिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले ‘नाइटमेयर’ले नेपाली सिर्जनालाई विश्वका पाठकसम्म पुर्‍याउने एउटा सशक्त माध्यम बन्न सक्ने धारणा राखे ।

कृतिका समीक्षक डा. मोहन तुम्बाहाङले साहित्यिक अनुवाद सिर्जनाभन्दा कम चुनौतीपूर्ण नभएको उल्लेख गर्दै भाषागत संवेदनशीलता, सांस्कृतिक सन्दर्भ र भावगत गहिराइलाई जोगाएर अनुवाद गर्नु ठुलो जिम्मेवारी भएको बताए । चाम्लिङले कठिन चुनौती स्वीकार गर्दै मेहनतपूर्वक तयार पारेको यो कृतिले नेपाली साहित्यमा अनुवाद विधालाई थप सशक्त बनाउने उनले विश्वास व्यक्त गरे ।

अनुवादक कवि बादल चाम्लिङले नेपाली कवितालाई विश्वका पाठकसम्म पुर्‍याउने उद्देश्यले यो कृति तयार गरिएको बताउँदै भाषा फरक भए पनि कविता बोकेको भावना, संवेदना र मानवीय अनुभूतिलाई यथासम्भव जोगाएर अंग्रेजीमा रूपान्तरण गर्ने प्रयास गरिएको उल्लेख गरे । नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने अभियानमा यो कृति एउटा सानो तर अर्थपूर्ण पाइला भएको उनको भनाइ थियो ।

कार्यक्रममा कृतिकारको परिचय प्रस्तुत गर्दै साहित्यकार ईरान राईले भाषा शिक्षण केवल सिद्धान्तमा सीमित नहुनुपर्ने धारणा राखे । उनले सिर्जना र अनुवाद दुवै साहित्यिक विकासका आधार भएकाले ‘नाइटमेयर’ले नयाँ पुस्ताका लेखक र पाठकलाई सिर्जनात्मक तथा अनुवादमुखी अभ्यासतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले स्थानीय तहमा सिर्जना भएका साहित्यिक कृतिहरू विदेशी भाषामा अनुवाद हुने क्रम अझै न्यून रहेको उल्लेख गर्दै ‘नाइटमेयर’ले त्यस अभावलाई केही हदसम्म सम्बोधन गरेको बताए । स्थानीय सिर्जनालाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्‍याउने दिशामा यो कृति कोशेढुङ्गा बन्न सक्ने उनको धारणा थियो ।

‘नाइटमेयर’ मा विभिन्न २७ जना नेपाली कविका एक-एक कविता तथा अनुवादक बादल चाम्लिङका १६ वटा कविता समावेश गरी जम्मा ४३ वटा कविता संग्रहित छन् । नेपाली साहित्यलाई अंग्रेजी भाषामार्फत विश्वव्यापी पाठकसम्म पुर्‍याउने उद्देश्यले तयार पारिएको यो कृति स्थानीय साहित्यिक सिर्जनाको अन्तर्राष्ट्रिय यात्रातर्फको एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

कार्यक्रम कवि जे.बी. थुलुङको सञ्चालन तथा रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार तथा समाजसेवी चन्द्रमणि राई, डा. छवि वैरागी घिमिरे, परशुराम सुवेदी, छत्र लिम्बू, शङ्कर गुरुङ, भगवतीप्रसाद घिमिरे, तिला लेकाली, देवान किराँती, प्रकाश दिप्साली राई, केपी घिमिरे, गगन याक्पाङ्देन, कृष्ण गुरुङ, धनजित पराजुली, हिरा खड्का अधिकारी, सञ्जीव धिमाल, अर्जुन कुलुङ राई र अजित धिमाललगायत साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्