नेपाल राष्ट्र बैङ्कमा २ करोड सम्म ऋणका लागि कर चुक्ताको प्रमाण पत्र पेस गर्न नपर्ने


काठमाडौँ ,२९ फागुन । नेपाल राष्ट्र बैङ्कले २ करोड रुपैयाँसम्म ऋण लिन आउनेका लागि कर चुक्ताको प्रमाण पत्र पेस गर्न नपर्ने बताएको छ ।

केही महिना अघि ऋण लिन आउनेहरूका लागि कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै २ करोडसम्म ऋण लिन करचुक्ताको प्रमाणपत्र नचाहिने व्यवस्था गरेको थियो । मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि बिहीबार एकीकृत निर्देशन जारी गरिएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार अब ५० लाख रुपैयाँसम्म ऋण लिनका लागि कर तिरेको प्रमाण अनिवार्य गरिएको छैन । ५० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म ऋण लिनका लागि भने कर तिरेको प्रमाण बैङ्कमा पेस गर्नु पर्नेछ ।

२ करोड भन्दा पनि माथि ऋण लिन चाहनेले भने कर तिरेको प्रमाणमात्रै नभएर करचुक्ताको प्रमाणपत्र नै पेस गर्नु पर्ने कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।
कर तिरेपनि करचुक्ताको प्रमाण नै लिइएको हुँदैन, कर त तिर्नु त पर्‍यो तर ५० लाखदेखि २ करोडसम्म लिनेले करचुक्ताको प्रमाण पत्र नै पेस गर्नु नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्