तराईको होलीमा कोरोनाको त्रास


बेलबारी, २७ फागुन / तराईमा आज होली मानाइन्दै छ । होली प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दुहरूको प्रमुख चाड हो ।

उत्साहका साथ मनाइने होली यस वर्ष कोरोना भाइरसको त्रासले अधिकाङस मानिसहरू घरमा नै बस्नु परेको छ । होलीका गीतहरू सुनसान भएको छ । होली पूर्णिमामा बजाइने “जागिरा सरररररर….” बोलको गीत सुन्न पाएको छैन ।

मोरङको बेलबारीमा पनि अहिले त्यही स्थिति छ । होली पर्व मनाउन मन भए पनि यो पटक घरमा नै बस्नु परेको स्थानीय बताउँछन् । केहीले घरमा नै होली मनाइ रहेका छन् भने अधिकाङसले रङ नखेली शुभकामना आदानप्रदान मात्र गरी रहेका छन् ।

सरिता झा भन्छिन्, ‘हामीले होली सधैँ रमाइलो गरी मनाउँथ्यो तर यो पटक कोरोनाको डरले घरमा रङ्गको टिका लगाएर शुभकामना आदानप्रदान गरेर बस्नु परेको छ । यो वर्ष होली खेल्न पाइनौ ।’

सरकारले कोरोनाको सङ्क्रमणबाट जोगीन कुनै पनि सार्वजनिक रूपमा हुने कार्यक्रम नगर्न सूचना गरेसँगै यस वर्षको होली कार्यक्रमहरू स्थगित नै भएको छ । तथापि केही ठाउँमा भने सानो भेलामा सुरक्षित रूपमा होली मनाएको पनि पाइएको छ ।

होलीको सामाग्री बिक्री नभएको व्यवसायीहरूको गुनासो रहेको छ । स्थानीय लुगा पसल व्यवसायी राज तामाङ भन्छन्,‘होलीको लुगा साथै अन्य सामान ल्यायौ तर बिक्री नै भएन यो पटक घाटा भयो । यो सामान बच्नु परेमा अर्को साल पर्खिनु पर्ने भो ।’

होलीको अर्थ

होलीलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भन्ने गरिन्छ । होली रङ्गहरूको चाड हो । यसले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । आज मानिसहरू विभिन्न रङ्गहरू खेल्दै शुभकामना प्रदान गर्दछन् ।

होलीको इतिहास हिन्दु संस्कृति अनुसार त्रेता युगसँग जोड्ने गरेको पाइन्छ । त्रेता युगमा हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएकी थिइन र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको भन्ने अर्थ लाउने गर्दछ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्