सुदन किरातीको चेतावनी : पुरानो नेतृत्वले पद छाडेर अभिभावक बन, नत्र विद्रोह हुन्छ


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पुरानो राजनीतिक नेतृत्वले पद परित्याग गरी अभिभावकको भूमिकामा जानुपर्ने सुझाव दिएका छन् । अन्यथा नयाँ पुस्ताले विद्रोह गर्न बाध्य हुने चेतावनीसमेत उनले दिएका छन् ।

जेनजी आन्दोलनपछि मुलुकभर नेतृत्व पुस्ता परिवर्तनको माग तीव्र भइरहेका बेला किरातीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश दिँदै अग्रज नेताहरूलाई सम्मानपूर्वक अवकाश लिन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, “इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाइराख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्व ग्रहण गर्नु उचित हुनेछ ।”

यस्तै, किरातीले वर्तमान पुस्ताले विद्रोह नगरे जनताले नै उनीहरूलाई बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । “त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्नेछ। नत्र जनताले हामीलाई बहिष्कार गर्ने छन्। अब के गरौँ ?” उनले प्रश्न उठाएका छन् ।

किरातीको भनाइलाई जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणकालसँग जोडेर व्याख्या गरिएको छ, जहाँ पुरानो पुस्ताको ठाउँमा नयाँ नेतृत्वको आवश्यकता रहेको बहस चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्