अर्घाखाँचीमा श्रीमतीको हत्या गरी घरमै गाडेको अवस्थामा शव फेला, श्रीमान् पक्राउ


अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पातलेपोखरामा आफ्नै श्रीमतीको हत्या गरी भान्साकोठामा गाड्ने ३६ वर्षीय किरण गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

प्युठान जिल्ला नौबहिनी गाउँपालिका–१, स्याउलीबाङ स्थायी घर भई पछिल्ला आठ वर्षदेखि पातलेपोखरामा बस्दै आएका गुरुङले आफ्नी ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

सुमित्रा ४–५ दिनदेखि हराएको भनी छरछिमेक र माइती पक्षले गत भदौ १६ गते प्रहरी चौकी बल्कोटमा मौखिक जानकारी दिएका थिए। त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा घरमै खाडल खनेर गाडिएको अवस्थामा उनको शव फेला परेको हो।

अनुसन्धानअनुसार भदौ १२ गते मध्यराति सामान्य वादविवादपछि किरणले बाँसको लाठी र हँसियाको पछाडिको भाग प्रहार गरी सुमित्राको हत्या गरेका थिए। शवलाई कम्बलमा बेरी भान्साकोठामा गाडिएको र केही दिनमै दुर्गन्ध आउन थालेपछि प्रहरीले उत्खनन गरी जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टमका लागि पठाएको हो।

पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको हिरासतमा राखी ‘ज्यान सम्बन्धी कसुर’मा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धानका क्रममा दुवै जनाको विगत सम्बन्धसमेत पत्ता लगाएको छ। करिब १० वर्षअघि प्रेम सम्बन्धका आधारमा विवाह गरेका उनीहरूको नौ वर्षीया एक छोरी छ। यसअघि किरणको पूर्वपत्नीबाट दुई छोरी र सुमित्राको पूर्वपतिको तीन छोरा रहेका थिए। घटनाको राति किरण मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्