पूर्वाञ्चल विश्वविद्यालयमा सुधारको माग : सरोकार समाजद्वारा ज्ञापनपत्र


मोरङ । पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले विश्वविद्यालयमा देखिएका अव्यवस्था, कमजोरी र चुनौतीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सुधारका लागि ठोस कदम चाल्न आग्रह गरेको छ। शुक्रवार समाजका प्रतिनिधिहरूले सुन्दरहरैँचास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर कुलपति समक्ष ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा शैक्षिक गुणस्तरमा गिरावट, ढिलासुस्तीपूर्ण प्रशासनिक प्रक्रिया, परीक्षा व्यवस्थापनमा देखिएको अव्यवस्था र सम्बन्धनप्राप्त कलेजहरूको नियमनमा कमजोरी देखिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ। समाजले विश्वविद्यालयलाई पारदर्शी, विद्यार्थीमैत्री र अनुसन्धानमुखी बनाउन दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गरेको छ।

समाजले हालै चिकित्सा शिक्षा आयोगमार्फत सञ्चालनमा आएको एमबिबिएस कार्यक्रमलाई ऐतिहासिक उपलब्धि भन्दै यसको दिगोपनाका लागि आवश्यक पूर्वाधार विकास, दक्ष जनशक्ति व्यवस्थापन र वित्तीय पारदर्शितामा जोड दिनुपर्नेमा ध्यानाकर्षण गराएको छ। साथै, स्थानीय विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न, अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन तथा परीक्षा प्रणालीलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने मागसमेत राखिएको छ।

सरोकार समाजले विश्वविद्यालयको नाममा रहेको ८०५ बिघा जग्गा सुरक्षित गर्दै त्यसको सदुपयोगमार्फत विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनुपर्ने धारणा राखेको छ। साथै, शिक्षण अस्पताललाई सुदृढ बनाई स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वतयारी तत्काल पूरा गर्नुपर्नेमा जोड दिएको छ।

समाजका प्रतिनिधिहरूले विश्वविद्यालयले निरन्तर सुधारका कदम चाल्न सके पूर्वाञ्चल मात्र नभई सम्पूर्ण देशकै शिक्षण तथा अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजका अध्यक्ष सञ्जीव रोकोहाको अध्यक्षतामा सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्