ललिता निवासको जग्गा धितोमा १३ बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानी (सूचिसहित)


काठमाडौँ, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त तथ्याङ्कअनुसार ललिता निवासको जग्गा धितोमा विभिन्न १३ बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानी भएको पाइएको छ ।

कुल १२ वटा बैङ्क तथा वित्तीय संस्था र एउटा सहकारी संस्था समेत गरी १३ वटा संस्थाबाट दुई अर्व ४१ करोड ६९ लाख ३६ हजार १२५ रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ ।लिता निवासको जग्गा धितोमा राखेर नेपाल इन्भेस्टमेन्ट बैङ्कले सबैभन्दा धेरै ऋण प्रवाह गरेको छ । सो बैङ्कले ५ वटा ऋणमार्फत तीन जनालाई कुल १ अर्व ४८ करोड २० लाख रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ ।

त्यस्तै लक्ष्मी बैङ्कले ४७ करोड ५ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैङ्कले १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकसँग एक्विजिसनमा गएको एनआईडीसी डेभलपमेन्ट बैङ्कले त्यस्तो कर्जा प्रवाह गरेको थियो, जो हाल राष्ट्रिय वाणिज्य बैङ्कको स्वामित्वमा आएको छ ।

यसरी गरी ग्लोबल आईएमई बैङ्कले ६ करोड ३७ लाख ५८ हजार रुपैयाँ, हिमालयन बैङ्कले ३ करोड ३१ लाख, सिभिल बैङ्कले ३ करोड, प्राइम कमर्शियल बैङ्कले २ करोड ४२ लाख, आर्यतारा बचत तथा ऋण सहकारी संस्थाले २ करोड, कुमारी बैङ्कले १ करोड ४० लाख तथा नेपाल बैङ्कले १ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । सिभिलको स्वामित्वमा रहेको ऋण लगानी तत्कालीन युनिक फाइनान्सबाट तथा कुमारी बैङ्कको तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंकबाट ऋण प्रवाह गरिएको थियो ।

महालक्ष्मी विकास बैङ्क, एनआईशी एसिया बैङ्क र प्रभु बैङ्कको पनि ऋण लगानी भए पनि त्यसको रकम १ करोडभन्दा कम छ । महालक्ष्मीको तत्कालीन यति डेभलपमेन्ट बैङ्कले प्रवाह गरेको ९८ लाख, एनआईशी एसिया बैङ्कले तत्कालीन बैङ्क अफ एसियाले प्रवाह गरेको ७५ लाख ७८ हजार १२५ रुपैयाँ तथा प्रभु बैङ्कको तत्कालीन किष्ट बैंकबाट प्रवाह भएको ४९ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्