काठमाडौँ,२३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको सुनुवाइमा अमेरिकी सिनेटले ह्वाइट हाउसबाट निकाल्ने अभियानमा पूर्णविराम लागेको छ ।
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले बुधवार उनीमाथि लागेको सत्ता दुरुपयोगको आरोप ५२–४८ भोटले खारेज गरेको थियो भने ५३–४७ भोटले कङ्ग्रेस अवरुद्ध गरेको आरोप पनि खारेज गरेको थियो ।
डेमोक्रेटिक सांसदले आगामी राष्ट्रपति चुनावमा आफ्नो सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्न युक्रेनमाथि दबाब दिएको ट्रम्पमाथि आरोप लगाएका थिए । यही वर्षको नोभेम्बरमा अमेरिकीमा राष्ट्रपति पदका लागि चुनाव हुँदै छ ।
महाभियोगको सामना गरेपछि पनि चुनाव लड्न लागेका ट्रम्प राष्ट्रपतिका पहिलो उम्मेदवार हुन् ।बुधवार भएको ऐतिहासिक मतदानमा सिनेटले राष्ट्रपति ट्रम्पलाई पदबाट नहटाउने निर्णय लिएको छ । उनीमाथि युक्रेनसँगको सम्बन्धमा आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप थियो ।